चुनावी प्रचारको पूर्वतयारीमा दलहरू

चितवन जिल्लामा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन् ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति बनाइएको बताउनुभयो । उहाँले जिल्लामा एउटा, प्रत्येक निर्वाचन क्षेत्र र वडा तहमा समेत निर्वाचन परिचालन समिति बनाएर प्रचारप्रसारको तयारी थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै खाले आन्तरिक तयारीमा लागेका छौँ, आन्तरिक तयारी पूरा गरेर प्रचारमा लाग्छौँ ।”

विशेष महाधिवेशनसँगै कांग्रेसहरू एक भएर निर्वाचनमा परिचालित भएको भन्दै उहाँले विगतको जस्तो गुटगत समस्या कांग्रेसमा अहिले नरहेको बताउनुभयो ।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठकले जिल्लास्तरीय, क्षेत्रस्तरीय, वडास्तरमा निर्वाचन परिचालन, स्वयंसेवक, आर्थिक सङ्कलन समिति बनाइसकिएको बताउनुभयो ।

घोषणापत्र र प्रतिबद्धतापत्र बनाउने काम भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “क्षेत्रगत समस्या पहिचान गरी तीन वटै क्षेत्रका छुट्टाछुट्टै प्रतिबद्धतापत्र बनाउने काम भइरहेको छ ।” कार्यालय सञ्चालनका लागि तयारी गरिएको उहाँको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य घनश्याम दाहालले जिल्लाका तीन वटै क्षेत्रका उम्मेदवारहरूले कार्यकर्ता भेटघाट कार्यक्रम थालेको बताउनुभयो ।

तीन वटै निर्वाचन क्षेत्रका सम्पर्क कार्यालय खुलेको, उम्मेदवारका प्रतिबद्धतापत्र छाप्ने तयारी गरिएको र जिल्ला, क्षेत्र र वडा तहमा निर्वाचन परिचालनका लागि विभिन्न समिति बनेको उहाँको भनाइ छ । धेरै पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको भए पनि सबै सङ्गठित भएर थप ऊर्जाका साथ प्रचार अभियानमा जुटेको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजन गौतमले पार्टीका उम्मेदवारले कार्यकर्तालाई भेटघाट गर्ने काम गरिरहेको बताउनुभयो । स्थानीय र राष्ट्रिय मुद्दाहरूको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेगरी घोषणापत्र बनाउने काम भइरहेको उहाँको भनाइ छ ।



क्षेत्रीयस्तरमा भएका समस्याहरूलाई घोषणापत्रमा समावेश गर्न त्यहाँका कार्यकर्तासँग घनिभूत छलफल गरी काम गरिएको गौतम बताउनुहुन्छ । क्षेत्र नं १ र ३ मा प्रचार समिति बनाइसकिएको भन्दै उहाँले क्षेत्र नं २ मा पार्टी सभापतिसँग परामर्श गरेर मात्रै समिति बनाइने भएकाले बाँकी रहेको बताउनुभयो ।

तीन वटै क्षेत्रमा प्रचार कार्यालय खोल्ने तयारी गरिएको छ । यसअघि दुई वटा क्षेत्र चुनाव जितेको रास्वपाले यसपटक तीन वटै क्षेत्र जित्ने गरी तयारी गरिरहेको गौतमको दाबी छ । तीन वटा क्षेत्र रहेको चितवनमा यसअघि दुई वटा क्षेत्र रास्वपा र एउटा क्षेत्रमा राप्रपाले जित हात पारेका थिए ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताउनुभयो ।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटा स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् ।

सम्बन्धित समाचार