साफ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान २-१ ले पराजित

पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा सोमबार नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालकी सिर्जना बढुवालले खेलको ३६ औँ मिनेटमा गोल गरी घरेलु टोलीको अग्रता बनाउनुभयो । खेलको ६९ औँ मिनेटमा नेपालले प्रजिता राईको गोलमार्फत अग्रता दोब्बर बनायो ।

खेलमा दुई गोलले पछि परेको अवस्थामा भुटानले ८७ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । भुटानकी सोनम चोडेनले गोल गर्नुभएको थियो । घरेलु टोली नेपालले भुटानलाई पराजित गरेसँगै तीन अङ्क जोड्न सफल भयो । यससँगै नेपालको फाइनल प्रवेशको सम्भावना कायम भएको छ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो । भुटानको भने दुई वटै खेलमा पराजित भएपछि फाइनल प्रवेशको ढोका बन्द भएको छ । पहिलो खेलमा भुटानलाई बङ्गलादेशले १२–० गोलले हराएको थियो ।

यसैगरी सोमबारै सम्पन्न पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले पराजित गरेको थियो । बङ्गलादेशले हालसम्म दुई खेल जित्दै छ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा नेपाललाई हराएको भारतको तीन अङ्क रहेको छ । भुटानले हालसम्म कुनै पनि अङ्क जोड्न सकेको छैन ।

लिग चरणको अन्तिम खेल माघ २१ मा भारत र भुटानका तथा नेपाल र बङ्गलादेशबीच खेल हुनेछ । माघ २४ मा अङ्क तालिकाको शीर्ष दुईमा रहने टोलीबीच प्रतियोगिताको फाइनल खेल हुनेछ ।

सम्बन्धित समाचार