नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।


आइसिसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
लगातार तीन हारसहित नेपाल समूह चरणबाटै बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।
मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । नेपालको लागि दीपेन्द्र सिंह ऐरीले ४७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५८ रनको अर्धशतकीय पारी खेले भने सोमपाल कामीले १५ बलमा चार चौका प्रहार गर्दै २६ रनमा अविजित रहे ।
त्यस्तै लोकेश बमले १३ र आसिफ शेखले ११ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । वेस्ट इन्डिजको लागि जेसन होल्डरले चार विकेट लिए भने अकिल हुसेन, म्याथ्यु फोर्ड, शामर जोसेफ र रोस्टन चेजको भागमा समान एक-एक विकेट रह्यो ।
नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ दशमलव २ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । वेस्ट इन्डिजको लागि कप्तान शाइ होपले ४४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित रहँदै ६१ रनको अर्धशतकीय पारी खेले भने शिमरोन हेटमायरले ३२ बलमा चार चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा नटआउट रहे ।
यस्तै ब्रान्डन किङले २२ रन जोडे । नेपालको लागि नन्दन यादवले एक विकेट लिए । हारसँगै नेपालको सुपर ८ पुग्ने सभावना सकिएको छ । यता वेस्ट इन्डिजले भने आफूले खेलेको तीन खेलमा विजयी हुँदै सुपर ८ मा पुग्ने पहिलो टोली बनेको छ ।
