करुणाकाे ज्याेति जगाउनु छ

बनाउनु सिर्जना हो, भत्काउनु केवल उन्माद हाे
शान्तिको नाममा बारुद भर्नु, चेतनाको अवसाद हो।

कलमले युग कोर्छ, तरवारले केवल घाउ दिन्छ
जितको उन्मत्त नाराले, सधैँ निर्दोषको शास लिन्छ।



खिया लागेको विचारमा, जब स्वार्थको धार लाग्छ
तब सिर्जनाको मन्दिर भत्काई, युद्धको चिहान बन्छ।

युद्ध कहिल्यै सिर्जना होइन, विनाशको यात्रा मात्र हो
शान्तिको नाममा युद्ध रित्तो अहंकारको जलप मात्र हो।

हजारौँ सपना खरानी पार्ने, त्यो ज्वाला चाहिएको छैन
दाजुभाइको रगत पिउने, सङ्गाला चाहिएको छैन।

सिमानाका रेखाहरूले मान्छेलाई कतिन्जेल बाँड्ने?
स्वार्थका लागि अब निर्दोषको, घाँटी कतिन्जेल रेट्ने?

जित्नेको इतिहास पनि यहाँ, हारकै आँसुले लेखिएको छ
विजेता भनिएको अनुहारमा पनि, लाचारी नै देखिएको छ।

कुनै धर्म, कुनै जाति वा, कुनै भूगोलको कुरा होइन
अब यो ब्रह्माण्डलाई बाँच्न, युद्धको सहारा चाहिँदैन।

बुद्धका आँखाहरूमा फेरि, करुणाको ज्योति जगाउनु छ
भत्किएका मनहरूमा अब, शान्तिको लेप लगाउनु छ।

हतियार बिसाएर एकफेर, मानवताको गीत गाउनु छ
मर्नु त एकदिन छँदैछ, बाँचुन्जेल शान्तिले जिउनु छ।

लौ न सबै मिली शान्ति र प्रेमको बिउ रोपौं
मानवता र भाइचाराको नयाँ बंकर बनाऔं

युद्धको यो कालो अध्याय सदाका लागि मेटौं।
बुद्धभूमि शान्ति भूमि नेपालबाट यही सन्देश छाेडाैं।

सम्बन्धित समाचार