कञ्चनपुर-२ मा रास्वपाका बोहरा विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत ल्याउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले छ हजार ४१८ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले छ हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तीर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले आज उम्मेदवार बोहरालाई प्रमाण पत्र हस्तान्तरण गर्दै विजयी भएकामा शुभकामना व्यक्त गर्नुभयो ।

सोही क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडक खत्रीलगायतले बोहरालाई बधाई तथा शुभकामना दिनुभयो ।

प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित बोहराले जनताको आशा र विश्वासमा खरो उत्रिने र जनहितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख नौ हजार ५७४ रहेकामा ६४ हजार ८८१ मत खसेको थियो ।

सम्बन्धित समाचार