नवकान्तिपुर संवाददाता
धरान (सुनसरी), २४ फागुन ।


प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार उहाँ ४७ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
चौधरीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मतमात्र प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की भगवती चौधरीले १५ हजार ८३ मत, श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले एक हजार ७८० र नेपाल कम्युनिष्ट पार्टीका दुर्गेशकुमार चौधरीले एक हजार ५५१ प्राप्त गर्नुभयो ।
उक्त क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका, इनरुवा, दुहबी, बर्जु गाउँपालिका गरी ३५ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १८५ मत खसेको थियो ।
