नवकान्तिपुर संवाददाता
काभ्रेपलाञ्चोक, २४ फागुन ।


बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ ।
काभ्रेपलाञ्चोक–१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याउनुभयो ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमी लामाले १३ हजार ८१४ मत प्राप्त गर्नुभयो ।
यसैगरी काभ्रेपलाञ्चोक–२ बाट रास्वपाका उमेदवार बदनकुमार भण्डारी ३५ हजार ४७६ मतान्तरले निर्वाचित हुनुभएको छ । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याउनुभएको छ । त्यस्तै यस क्षेत्रमा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० र नेकपाका बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्नुभयो ।
काभ्रेपलाञ्चोकको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १० हजार ३९ मत बदर भएको छ । तीन लाख २६ हजार ६११ मतदाता रहेकामा ५९ प्रतिशत मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
