नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।


भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो । विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो । यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो । सन् २००७ को विश्वकपमा पनि भारतले उपाधि जितेको थियो ।
आइतबार भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो । न्यूजिल्याण्डका लागि टिम सिफर्टले सर्वाधिक २६ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ५२ रन बनाए । त्यस्तै मिचेल स्यान्टनरले ३५ बलमा ४३ रन जोडे भने ड्यारिल मिचेलले ११ बलमा १७ रन बनाए । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ भारतका बलरहरू उत्कृष्ट देखिए । जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिँदै ४ विकेट लिए । त्यसैगरी अक्षर पटेलले ३ विकेट लिए भने हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको थियो । भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।
त्यस्तै अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे भने इशान किशनले २५ बलमा ५४ रन बनाए । हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए । कप्तान सूर्यकुमार यादव भने ज्ञ बलमै आउट भए । अन्त्यतिर शिवम दुबेले ८ बलमा २६ रन बनाए भने तिलक वर्मा ८ रनमा अविजित रहे ।
न्यूजिल्याण्डका लागि जेम्स निशमले ३ विकेट लिए । त्यस्तै म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिए ।

