

एकदिन एक शिष्य आफ्ना गुरुको सामुन्ने उपस्थित भएर विनम्र भावले भन्छन् ‘गुरु, मलाई आफ्नो घर, परिवार र व्यवसाय सबै छाडेर सन्यासी बनेर हिँड्न मन लाग्यो । सबैतिरबाट विरक्त लागेर आयो । म केवल हजुरको सल्लाह र अनुमति लिन आएको हुँ । म के गरौं ?’
गुरु : ‘अहिले तिमी जे जे कर्म गरिरहेकाछौं, त्यही गरेर बस ।’
शिष्य : ‘होइन गुरु, म त सन्यास लिने इच्छाले नै हजुरको अनुमति माग्न आएको ।’
गुरु : ‘अहिले तिम्रो सन्यासी बन्ने बेला आएको छैन । सन्यासी बन्नका लागि आवश्यक अतिरिक्त मोह त्यागको भावना तिमीमा विकसित भइसकेकोे छैन । त्यसैले अहिले जे गर्दैछौ, त्यसैलाई निरन्तरता दिएर बस ।’
शिष्य : ‘होइन गुरु, म त सन्यासी बन्नका लागि तयार भएर …. ।’
गुरु : ‘सुन शिष्य, जो व्यक्ति वास्तवमा नै सन्यासी बन्न चाहन्छ, ऊ कसैको अनुमति लिने अभिनय गर्दैन । तिम्रो छातिमा अहिले पनि मोहको सगरमाथा विद्यमान छ । तिमी मबाट पनि त्याग नगर्ने राय सुन्न चाहन्छौ । जुनदिन तिमीमा सांसारिक मोह–बन्धनबाट वास्तविक रूपमा वैराग्य भाव पैदा हुन्छ, त्यो दिन तिमी सन्यासी बन्नका लागि मसँग राय वा अनुमति माग्न आउने छैनौ ।’
२०८२/११/३०, काठमाडौं ।

