स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।

यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा बढीको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका वडा नं ४, ६ र ७ को धुलाचौरमा, वडा नं ५ को कुवाडीमा र वडा नं १, २ ३ को विच्छ्याँमा शिविर आयोजना गरिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले प्रजनन स्वास्थ्यसम्बन्धी पाठेघरको आङ खस्ने, सेतोपानी बग्ने, क्यान्सर, रक्तअल्पताको उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

उपचारका क्रममा पाँच सयभन्दा बढीमा पाठेघर समस्या, १४८ जनामा दम, मुटुरोग, मिर्गौला परीक्षण, मधुमहको उपचारलगायत नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिएको छ । यस्तैगरी ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर जाँच, १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षणलगायत सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

घुम्ती शिविरमा ५० प्रतिशतभन्दा बढी महिलाको पाठेघर खस्ने समस्या देखिएको उपचारमा सङ्लग्न चिकित्सक डा रञ्जित शाहले बताउनुभएको छ । महिनाबारी र सुत्केरी भएका बेलामा गहु्रङ्गो भारी बोक्ने तथा घरायसी कामका कारण पाठेघर खस्ने समस्या आएको हुनसक्ने उहाँको भनाइ छ ।

स्वास्थ्य शाखा प्रमुख भण्डारीले कामको बोझ, पोषिलो खानेकुराको कमी र बालविवाहका कारण पाठेघर खस्ने समस्याबाट बढी हुने गरेको पाइएको बताउनुभयो । यस्तै, विच्छ्याँको माथिल्लो उच्च हिमाली भागमा नशा रोगसम्बन्धी समस्या बढी देखिएको छ ।

यहाँ हिमाली गाउँपालिकामा स्थापित आधारभूत स्वास्थ्य इकाई सेवा केन्द्रबाट प्राथमिक उपचार मात्र हुन्छ । ठूलो समस्या देखिए उपचारका लागि कोल्टी र जिल्ला अस्पताल मार्तडी पुग्न पर्ने बाध्यता छ ।

गाउँपालिकाले विगतदेखि नै नागरिक उपचार सहायता कोष स्थापना गरी ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समस्या पहिचान तथा सेवा प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दवहादुर मल्लले बताउनुभयो ।

सम्बन्धित समाचार