प्रधानमन्त्री कप क्रिकेट : गण्डकीमाथि बागमती प्रदेशको शानदार जित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको विशाल योगफल बनाएको थियो । २९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको सुरुआत कमजोर रह्यो ।

गण्डकी ३१.५ ओभरमा मात्र १२४ रनमा अलआउट भयो । उसका लागि अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय साथ दिन सकेनन् । बलिङतर्फ बागमतीका रिजन ढकालले ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र ईशान पाण्डेले समान २–२ विकेट लिँदा दयानन्द मण्डल र सुबास खत्रीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीको लागि ईशान पाण्डे उत्कृष्ट प्रदर्शन गर्दै ६१ बलमा सर्वाधिक ७१ रन जोडे । त्यस्तै अशुतोष घिरैयाले ५९ रनको योगदान दिए । शुभ कङ्साकारले ४४ रन बनाए । कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।

बागमतीका लागि रिजन ढकालले ३ विकेट लिए भने इशान पाण्डे र कप्तान सन्दीप लामिछानेको भागमा समान २-२ विकेट रह्यो । जितसंगै बागमती दोस्रो खेल पहिलो जित हात पार्दै दुई अंक जोडेको छ भने पहिलो खेल खेलेको गण्डकी अंकविहिन छ ।

सम्बन्धित समाचार