मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा आज साँझ मृत्यु भएको छ ।

पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नं को मोटरसाइकल आज अपराह्न ५:३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकलको पछाडि सवार सप्रह तामाङ दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उहाँको आज साँझ ६:४५ बजे मृत्यु भएको हो ।

मोटरसाइकलको चालक अर्जुनधारा नगरपालिका वडा नं १ घर भई बाहुनडाँगी बीओपीमा कार्यरत ४० वर्षीय डिल्लीराम सुबेदीको हाल बीएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको मोटरसाइकल हाल नेपाल प्रहरीको भृकुटी अस्थायी पोस्टको नियन्त्रणमा रहेको र तामाङको शव हस्पिटलमै रहेको जनाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार