
‘नेपाललाई सिङ्गापुर बनाउँने’- भन्ने वाक्य नेपाली राजनीतिमा निकै लोकप्रिय छ । जनताले पनि यही चाहन्छन्-नेपाल पनि सिङ्गापुरजस्तै सफा सडक, व्यवस्थित शहर, बलियो अर्थतन्त्र र पारदर्शी शासनसहितको समुन्नत देश बनोस्। तर एउटा गम्भीर प्रश्न भने सधैं ओझेलमा पर्ने गर्छ, सिङ्गापुर कसरी आजको सिंगापुर बन्यो र सिंगापुर बन्ने प्रक्रिया के हो ? के केवल चाहनाले, भाषणले वा नाराले मात्र कुनै देश सिंगापुर बन्न सक्छ ? कि त्यसका लागि कठोर निर्णय, अनुशासन र निरन्तर सुधार आवश्यक पर्छ ?
आजको विकसित सिंगापुर पहिले यस्तो थिएन । सन् १९६० भन्दा अगाडि सिङ्गापुर एउटा दरिद्र राष्ट्रका रूपमा परिचित थियो । मानिसहरूलाई बस्नका लागि घरसमेत थिएन । यो कुनै हिन्दी फिल्ममा देखाइने एउटा झोपडपट्टी जस्तो थियो र यसको नियन्त्रण विभिन्न ग्याङहरूले गर्ने गर्थे । यहाँ न राम्रा शैक्षिक प्रतिष्ठानहरू थिए न त शिक्षित व्यक्तिहरू नै । सिङ्गापुरको आफ्नो गर्व गर्न लायकको प्राकृतिक स्रोत–साधन केही पनि थिएन । यहाँ खेतीयोग्य जमिनसमेत थिएन । खानेदेखि सबै कुरामा छिमेकी मुलुक मलेसियासँग भर पर्नुपर्दथ्यो । पानीसम्म मलेसियाबाट आयात गर्नुपर्ने अवस्था थियो । भविष्य अनिश्चित थियो, र त्यसताका धेरैले सिङ्गापुरलाई टिक्न नसक्ने एउटा राष्ट्रका रूपमा हेर्ने गर्थे ।
तर आकारमा सानो भए पनि सिङ्गापुर लि क्वान युको त्याग, तपश्या र दृढ इच्छाशक्तिले आज विश्वकै समृद्धशाली र चर्चित देश बन्न पुगेको छ । अहिले सिङ्गापुरमा न गुण्डागर्दी छ, न बेरोजगारी र भ्रष्टाचार नै । बरू सिङ्गापुर अहिले संसारकै ठूलो व्यापारिक केन्द्र, भव्य क्यासिनोहरू, रिसोर्टहरू, नमुना अन्तर्राष्ट्रिय विमानस्थल र प्रख्यात बन्दरगाहका कारणबाट विश्वमा चिनिन्छ ।
मनमा इमानदारी र दिमागमा समृद्धिको स्पष्ट मार्गचित्र छ भने एउटै व्यक्तिको प्रयासबाट देशले कायापलट गर्न सक्छ भन्ने उदाहरण हो सिङ्गापुर । आज धेरै अल्पविकसित देशहरू आफ्नो देश पनि सिङ्गापुर जस्तै बन्ने उदाहरण दिन्छन् तर कर्म भने त्यसअनुसार गर्ने सामर्थ्य राख्तैनन् । नेपालको अवस्था पनि त्यस्तै हो ।
लि क्वान युको कठोर निर्णय र स्पष्ट दृष्टिकोण
देश कठिन अवस्थाबाट गुज्रिरहेको बेला लि क्वान युले सिङ्गापुरको नेतृत्व सम्हालेका थिए । युको विशेषता थियो- यथार्थलाई नलुकाउने । उनले सिङ्गापुरको समस्या स्पष्ट रूपमा पहिचान गरे- भ्रष्टाचार, अव्यवस्था, कमजोर प्रशासन र स्रोत-साधनको सीमितता । अनि उनले समाधान पनि त्यत्तिकै स्पष्ट रूपमा अघि सारे- कानुनमा कडाइ, प्रशासनिक सुधार र आर्थिक खुलापन ।
भ्रष्टाचार नियन्त्रणका लागि उनले शक्तिशाली निकायहरूलाई स्वतन्त्र बनाए, उच्च पदस्थ अधिकारीहरूलाई पनि कारबाहीको दायरामा ल्याए । ‘ठूलालाई छोड्ने, सानोलाई समात्ने’ प्रवृत्तिलाई उनले पूर्ण रूपमा अन्त्य गरे । सिङ्गापुरमा नियम सबैका लागि बराबर बन्यो, चाहे त्यो नेता होस् वा आम नागरिक ।
सिङ्गापुरको विकास कुनै चमत्कार थिएन, योजनाबद्ध प्रयासको परिणाम थियो । उद्योग, बन्दरगाह, विमानस्थल, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक लगानी गरियो । विदेशी लगानी भित्र्याउन स्थिर नीति र विश्वासिलो वातावरण तयार गरियो ।
मुलुकमा केवल भौतिक पूर्वाधार मात्र होइन, सामाजिक अनुशासन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै तद्नुकूलको सामाजिक अनुशासन कायम गरियो । फोहोर फाल्नेदेखि ट्राफिक नियम उल्लंघनसम्म कडाइ गरियो । नागरिकलाई अधिकारसँगै जिम्मेवारी पनि सिकाइयो । परिणाम क्रमशः सुखद् बन्दै गयो ।
विरोध, आलोचना र युको दृढता
लि क्वान युका लागि सिङ्गापुरको समृद्धि यात्रा सहज थिएन । उनका धेरै निर्णयहरू विवादित पनि बने । कडा कानुन, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणजस्ता विषयमा आलोचना भयो । तर लि क्वान यु आफ्नो लक्ष्यबाट पछि हटेनन् l सुरुमा विरोध भए पनि, तर परिणाम सकारात्मक देखिन थालेपछि सरकारमा जनताको विश्वास बढ्दै गयो । अन्ततः सिङ्गापुर विश्वकै सफल, व्यवस्थित र समृद्ध राष्ट्र बन्न पुग्यो । विरोध र आलोचनाबाट यु भागेका थिए भने सिङ्गापुर आजको सिङ्गापुर बन्ने थिएन । नियत सफा छ भने नेतृत्वले आलोचनाबाट भाग्नु हुन्न भन्ने कुरा पनि उनले सिकाए ।
के सिक्न सक्छ नेपालले ?
नेपालले हालै राजनैतिक रूपमा ठूलो फड्को मारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा छ र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सरकारको नेतृत्व गर्दैछन् । बालेन शाहलाई नेपाली भर्सनको लि क्वान यु बन्ने अवसर छ । काङ्ग्रेस, एमाले र माओवादीले जर्जर बनाएको र कुशासन र बेथितिले थिलथिलो बनाएको मुलुकलाई विकास र समृद्धिको मार्गमा ल्याउने ऐतिहासिक जिम्मेवारी पनि उनलाई छ ।
जनताको साथ र समर्थन कायम रह्यो र उनले पनि युगले उनलाई सुम्पिएको जिम्मेवारीलाई बोध गर्दै अगाडि बड्ने हिम्मत जुटाउन सके भने नेपालले सिङ्गापुरको मार्ग समाउन नसक्ला भन्न सकिन्न । मार्गमा अनेकन बाधा र अवरोध आउन सक्छन् तर तिनीहरूलाई पन्छाउँदै अगाडि बड्न सक्नुले नै कुसल शासकको पहिचान बन्छ । मूर्ति बन्ने चाहना राख्नेले हथौडाको प्रहार सहन सक्नुपर्छ ।
सिङ्गापुरबाट नेपालले सिक्न सक्ने मुख्य पाठहरू:
सिङ्गापुर र नेपालको तुलना (पछिल्लो अनुमानित)
क्षेत्रफल-
प्रतिव्यक्ति आय-
तथ्याङ्कहरूले देखाउँछ– नेपालभन्दा २०० गुणा सानो देश सिङ्गापुरको प्रतिव्यक्ति आय नेपालीको भन्दा ५०/६० गुणाले बढी छ ।
सारमा,
सिङ्गापुर बन्ने कुरा कुनै नारा होइन, यो एउटा दीर्घकालीन प्रक्रिया हो । अव्यवस्था जस्ताको त्यस्तै राखेर, भ्रष्टाचारलाई छोडेर, र केवल भाषणमा सीमित भएर परिवर्तन सम्भव छैन/हुँदैन। नेतृत्व पारदर्शी हुनुपर्छ । स्थायित्वका लागि व्यक्तिमा निर्भर हुनेखालको विकास नभई प्रणालीमा आधारित हुनुपर्छ ।
लि क्वान युले देखाएको बाटो सजिलो थिएन, तर स्पष्ट थियो- अनुशासन, इमानदारी र दूरदृष्टिकोण । यी तीन कुराको समन्वय र सन्तुलनविना समृद्धि सम्भव छैन भन्ने कुरा सरकारले मात्र होइन, नागरिक समाजले पनि बुझ्न जरुरी हुन्छ । सरकार त प्रतिनिधि पात्र मात्र हो । समृद्धि सबैको चाहना र सपना हो । सबैले बुझ्न जरुरी छ, त्यागविना परिवर्तन सम्भव छैन । विसङ्गति र बेथितिका पहाडलाई यथावत राखेर मुलुकमा परिवर्तन र समृद्धिको सपना देख्नु असम्भव कुरा हो ।

