नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ वैशाख ।

“समयमै पहिचान, सही उपचार-कुपोषण मुक्त पुस्ताको आधार” भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रूपमा राष्ट्रिय पोषण लेखाजोखा अभियान वैशाख १५ गतेदेखि ३० गतेसम्म संचालन गर्न लागेको छ।
यस अभियानको प्रमुख उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषण (Severe Acute Malnutrition तथा Moderate Acute Malnutrition) को समयमै पहिचान गर्नु र आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्नु रहेको छ। साथै, स्थानीय तह, जिल्ला तथा प्रदेश स्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रहरूको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधार तयार गर्नु पनि अभियानको महत्वपूर्ण लक्ष्य रहेको छ।
अभियान देशभरका सबै ७५३ स्थानीय तहमा सञ्चालन गरिनेछ। लेखाजोखा कार्य स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवनहरू तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन गरिनेछ।
कार्यक्रम सञ्चालनका क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको संख्या, आवश्यक स्वास्थ्यकर्मी टोली तथा सामग्रीको व्यवस्थापन सहित सूक्ष्म योजना तयार गर्नेछन्। अभियान सम्बन्धी जानकारी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विभिन्न संचार माध्यमहरु, मार्फत समुदायसम्म पुर्याइनेछ।
लेखाजोखा कार्यका लागि आधुनिक उपकरणहरू जस्तै डिजिटल तौल मेशिन, उचाइ र लम्बाइ मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ। संकलित विवरणलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न कोबो मोबाइल एपमार्फत तथ्यांक संकलन गरिनेछ।
यस अभियानबाट प्राप्त हुने तथ्यांकले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग पुर्याउनेछ र लक्षित पोषण कार्यक्रम सञ्चालन तथा प्रभावकारी नीति निर्माणका लागि अद्यावधिक, विश्वसनीय तथा स्थानीय तहसम्मको तथ्यांक उपलब्ध गराउनेछ। यस महत्वपूर्ण राष्ट्रिय अभियानलाई सफल बनाउन सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई एकजुट भई सक्रिय सहभागिता जनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहताले अपिल गर्नुभएको छ।
सबैको साझा प्रयासबाट मात्र कुपोषणमुक्त स्वस्थ पुस्ता निर्माण सम्भव हुने भएकाले वैशाख १५ देखि ३० गतेसम्म स्वास्थ्यकर्मीहरू समुदाय वा टोलमा पुग्दा ६–५९ महिनाका आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराई यस अभियानलाई सफल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै अभिभावकमा हार्दिक अनुरोध गर्दछ।
