मध्यपूर्व तनावबीच इरानको विश्वकप यात्रा अघि बढ्दै

विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ ।

मध्यपूर्वमा फेब्रुअरीदेखि बढ्दै गएको द्वन्द्वका कारण इरानको सहभागिताबारे अन्योल देखिएको भए पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले निर्धारित तालिकाअनुसार विश्वकपमा भाग लिने स्पष्ट पार्नुभएको छ ।

सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि जुलाई १९ सम्म संयुक्त रूपमा आयोजना हुँदैछ । इरानले आफ्नो समूहका खेलहरू संयुक्त राज्य अमेरिकामै खेल्ने तय भएको छ ।

यसअघि क्यानडामा आयोजित फिफा कंग्रेसमा इरानी प्रतिनिधिमण्डल सहभागी हुन सकेको थिएन । क्यानडाले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित व्यक्तिहरूलाई प्रवेश निषेध गरेको कारण उनीहरूलाई फर्किनु परेको बताइएको थियो ।

त्यसपछि इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताज स्वदेश फर्किएका थिए र फिफासँग विभिन्न विषयमा छलफल गर्न चाहेको बताउनुभएको थियो ।

समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार