नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण भित्रियो

चालु आर्थिक बर्षको नौ महिनामा १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । विप्रेषण आप्रवाह ३९ दशमलव एक प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव दुई प्रतिशतले बढेको थियो । विवरणअनुसार, गत चैत महिनामा विप्रेषण आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव पाँच प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब तीन अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ९३ हजार २५९ रहेको छ ।

सम्बन्धित समाचार