नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्ना संशोधन प्रस्तुत गर्दै सांसदहरुले कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन, रोजगारी र समृद्धिका विषयहरू समावेश गर्न आग्रह गर्नुभएको छ । नीति तथा कार्यक्रममा ३५ जना सदस्यले संशोधनको प्रस्ताव गर्नुभएको हो ।
बैठकमा सांसद सुहाङ नेम्वाङले नीति तथा कार्यक्रममा उत्साह र भरोसा जगाउने प्रस्तावमा आफ्नो समर्थन रहेको बताउँदै संविधान संशोधनजस्ता राष्ट्रिय भावलाई जोड्नुपर्ने बताउनुभयो ।
सांसद क्षितिज थेवेले सुशासनका विषय नीति तथा कार्यक्रममा राखिनु सकारात्मक रहे पनि पर्यटन प्रवद्र्धनका प्रभावकारी कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो ।
सांसद गणेशसिंह ठगुन्नाले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव प्रस्तुत गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमिलाई वास्तविक अर्थमा नेपालको अधीनमा ल्याउन भारतसँग कूटनीतिक पहल गर्ने विषय नीति तथा कार्यक्रममा समावेश नहुनु दुःखद भएको टिप्पणी गर्नुभयो ।
सांसद डा अर्जुनकुमार कार्कीले आर्थिक कूटनीतिलाई महत्व दिएर वैदेशिक सहयोग र सहकार्य बढाइ मुलुकलाई विकासशील राष्ट्रका रुपमा स्तरोन्नति गर्ने कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो ।
सांसद युवराज दुलालले वन क्षेत्रलाई राष्ट्रिय उत्पादकत्व वृद्धिमा उपयोग गराउने प्रस्ताव नीति तथा कार्यक्रममा नआएको बताउनुभयो । अर्का सांसद ऐनबहादुर महरले नीति तथा कार्यक्रम शब्दहरुको प्रस्तुति धेरै भए पनि मुलुकको रूपान्तरणका विषय नरहेको टिप्पणी गर्नुभयो ।
सांसद पद्माकुमारी अर्यालले विगतका सरकारका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रयास भएको देखिए पनि ती पर्याप्त नभएका बताउनुभयो । सांसद कृपाराम रानाले सुकुमवासील न्याय पाउने विषय र कृषिको व्यावसायिकीकरण गर्नुपर्ने विषय नीति कार्यक्रममा थप्न प्रस्ताव गर्नुभयो ।
सांसद भूमिका सुब्बा लिम्बूले आदिवासी जनताजातिको ज्ञान, परम्परा र संस्कृतिलाई विकासको मूल प्रवाहमा समेट्न आग्रह गर्नुभयो । सांसद यज्ञबहादुर बोगटीले नीति तथा कार्यक्रममा नौलोपन नरहेको र युवाहरूको अपेक्षाबमोजिम नभएको टिप्पणी गर्नुभयो ।
सांसद गङ्गादेवी श्रेष्ठले प्रदूषण बढाउने पुराना सवारी साधनलाई हटाउने विषय समावेश गर्न माग गर्नुभयो । सांसद डा पुष्पराज कँडेलले राज्य व्यवस्थाको संरचनात्मक परिवर्तन र योजनाबद्ध आर्थिक विकासको तालमेल नभएको बताउँदै राष्ट्रसेवक कर्मचारीको तलब बढाउन सुझाउनुभयो ।
सांसद यशुदाकुमारी बरालले कर्णालीका सबै जिल्लामा, खानेपानी, स्वास्थ्य, शिक्षामा सहज पहुँच अनिवार्य गर्ने विषय प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । सांसद टुकाभद्र हमालले जवाफदेहिता वृद्धि र परिणाम देखिने गरी नीति तथा कार्यक्रम सच्च्याउन सुझाव दिनुभयो ।
सांसद कुलभक्त शाक्यले श्रमिक वर्गको सामूहिक सौदाबाजी गर्न पाउने हकलाई वञ्चित गर्न नहुने बताउनुभयो । सांसद प्रमेशकुमार हमालले संविधानमा रहेको समाजवादोन्मुख आर्थिक व्यवस्था, सामाजिक न्याय र रूपान्तरणका विषय स्पष्ट पार्न आवश्यक छ भन्नुभयो ।
सांसद मातृकाप्रसाद यादवले रुग्ण उद्योगहरू यथाशीघ्र सञ्चालनको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो भने अर्का सांसद परशुराम तामाङले गरिखाने श्रमजीवी वर्ग र उत्पीडित वर्गका लागि अर्थ–राजनीतिक समस्याको समाधान नीति तथा कार्यक्रममा नभएको आरोप लगाउनुभयो ।
सांसद बलावती शर्माले २० वर्षमाथिका महिलाको पाठेघरको समस्या र स्तन क्यान्सर रोगको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद पार्वती विकले दलित र दुर्गम क्षेत्रका महिलाका हकअधिकारका सवालमा प्राथमिकता दिन आग्रह गर्नुभयो । सांसद निराशा चौधरी (ठगौरा)ले कृषि क्षेत्रलाई राहत दिन र बजार प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । बैठक जारी छ ।
