नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि डिएलएस पद्धतिमा दुई रनले जित हासिल गरेको हो ।
वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२२ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ३२ ओभरमा २४९ रन बनाउनुपर्ने थियो । तर अमेरिका आठ विकेट गुमाएर २४६ रनमै सीमित बनेपछि स्कटल्यान्डले जित हात पार्याे ।
अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले शानदार शतक प्रहार गरे । उनले ७५ बलमा ५ चौका र आठ छक्का प्रहार गर्दै १०४ रन बनाए । त्यस्तै स्मित पटेलले ५६ बलमा १२ चौका र एक छक्कासहित ७२ रन जोडे । यी दुईले अमेरिकालाई जित नजिक पुर्याए पनि अन्तिम ओभरतिर लगातार विकेट गुमाउँदा टोली पराजित हुन पुग्यो ।
अमेरिकाका कप्तान मोनांक पटेल १२, शायन जहाँगिर चार, शेहान जयसूर्या नौ र मिलिन्द कुमार चार रनमा आउट भए । शुभम रञ्जानेले १६ रन बनाए भने हरमित सिंह एक बलमा छक्का प्रहार गर्दै छ रनमा अविजित रहे । स्कटल्यान्डका लागि ब्राड करी, ब्रान्डन म्याकमुलन र सफयान शरिफले समान दुई-दुई विकेट लिए । मार्क वाट र ओलिभर डेभिडसनले एक-एक विकेट हात पारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा छ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बलमा छ चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाए । विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमै आठ चौका र दुई छक्कासहित ५८ रन जोडे ।
त्यस्तै, ब्रान्डन म्याकमुलनले ४० बलमा पाँच चौका र तीन छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले । माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ र माइकल लिस्कले अविजित २८ रन बनाए । कप्तान रिची बेरिङ्टन १० रनमा आउट भए भने जर्ज मुन्सीले २० रन जोडे । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र जसदीप सिंहले समान दुई-दुई विकेट लिए । मिलिन्द कुमार र शुभम रन्जानेले एक-एक विकेट हात पारे ।

