अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्रालयका कृषि अर्थ विज्ञ महानन्द जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रासायनिक मल, तत्वीय संरचना, न्यूनतम अधिकतम पोषक तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर भएको मलमात्र पैठारी एवं बिक्रीवितरण गर्न पाइने व्यवस्था छ ।

मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ ।

बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ ।

सम्बन्धित समाचार