नवकान्तिपुर संवाददाता
बेलबारी (मोरङ), ९ जेठ ।

सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ ।
विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।
उहाँका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर रु १०० देखि रु ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले रु १५० भन्दा बढी पर्न थालेको छ । नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य भने अप्रत्यासित रूपमा बढेको जनाएको छ ।
निर्माण सुुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार विटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन् । हाल ओभरपास, अण्डरपास, वेस, सववेस, नालालगायत संरचना निमार्ण तीव्र रूपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । “पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउनेछ”, उहाँले भन्नुभयो ।
एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्ने प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण सुरु भएको थियो ।

