परराष्ट्रमन्त्रीद्वारा ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ । कन्सुलर सेवा विभागले मंगलबार यहाँ आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

“विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका विषयमा जानकारी नहुने भएकाले कन्सुलर सेवाको काम बढेको छ,” उहाँले भन्नुभयो, “विदेशमा रहेकाका आफन्तलाई कुनै जानकारी दिन पनि यो सेवा सहयोगी हुने छ ।”

यो सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ । कानुनी सेवा अहिले ५०० स्थानीय तहमा पुगिसकेको जानकारी पनि कार्यक्रममा गराइएको थियो । आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो ।

‘मोफा मित्र’ मोबाइल एपबाट सहजरूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसबाट सम्बन्धित नियोगबाट थप सहयोग लिन सकिने व्यवस्था एपमा गरिएको छ । प्रविधिमार्फत् सेवाको पहुँच बढाउने लक्ष्यअनुसार सुरु गरिएको सेवामा प्रविधिमा विकास आएसँगै विस्तार गर्दै जाने पनि उहाँको प्रतिबद्धता छ ।

अनौपचारिक रूपमा भारतमा रहेका नेपाली बाहेक विधिवत् रूपमै ५० लाख नेपाली विभिन्न सेवामा विदेशिएका छन् । अप्ठ्यारो परेका विषयमा मोबाइल एप डाउनलोड गरेर गुनासो पनि राख्न सकिने छ ।

विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीको हक हितको संरक्षण र अप्ठ्यारो परेका बेला सहयोग लिन एप प्रयोग हुने बताउनुभयो ।

एप र मोबाइल प्रणालीमा लिङ्क गरिएको पनि उहाँले सुनाउनुभयो । शव व्यवस्थापन, क्षतिपूर्ति, बीमा दावीलगायत विषयका लागि एपबाट सहज हुने विश्वास गरिएको छ । विदेश जाने नेपालीको सङ्ख्या बढिरहेकाले यो एप प्रभावकारी हुनेछ ।

विभागका सूचना प्रविधि अधिकृत नवीनकुमार झाले विदेशमा भएका नेपाली नागरिक लक्षित मोबाइल एप आएको बताउनुभयो । यसबाट सोधपुछ, उद्धार, गुनासो, शव व्यवस्थापनलगायत सेवा लिन सकिने बताउनुभयो ।

मोबाइल एपबाट अपडेट गरेपछि सेवा लिनुपर्ने सम्बन्धित नियोगमै जाने गरी व्यवस्था मिलाइएको पनि सूचना प्रविधि अधिकृत झाले बताउनुभयो । एपबाट निवेदन गरेपछि के के हुन्छ, मोबाइलबाट हेर्न सकिने गरी व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार