कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ : सहसंयोजक नेपाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको शनिबार उद्घाटन गर्दै उहाँले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताउनुभयो ।

सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षा गर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण बेलाबेलामा कम्युनिष्ट घटकहरूबीच विभाजन आउने गरेको उल्लेख गर्नुभयो । उहाँले देश र जनताको हितमा काम गर्न विगतका टुटफुटबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सहसंयोजक नेपालले पार्टीको एकता महाधिवेशनअगावै वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय सङ्गठनलाई भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो ।

उहाँले सामाजिक रुपान्तरणका लागि महिला वर्गको सशक्तीकरण अपरिहार्य रहेको र त्यसमा पार्टी सङ्गठन क्रियाशील रहेको विचार व्यक्त गर्नुभयो ।

भेलाले केन्द्रीय समिति, सचिवालय, कार्यालय गठन गर्नुको साथै संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार