सांसदहरूमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

प्रतिनिधिसभाको सोमबारको बैठककले संसदको आइतबारको बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्नुभएको हो । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।

‘१७ गतेको बैठकमा केही माननीय सदस्यहरू अव्यवस्था सृजना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन, भौतिक हानी एवं क्षति पुर्‍याउने कार्य गरेको ब्यहोरा सभामुखलाई बैठकपछि जानकारीमा आयो । आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी ७ दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेस गर्नेगरी प्रतिनिधि सभा सचिव प्रकाश अधिकारी संयोजकको समिति बनाएको छु,’ सभामुख अर्यालले बैठकमा भन्नुभयो ।

त्यस्तै सभामुख अर्यालले प्रतिवेदन प्राप्त भएपछि ३३ को उपनियम ४ बमोजिम कारबाही अगाडि बढाउने जानकारी पनि गराउनुभयो ।प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पुर्याउने काम गरेको सभामुखले जानकारी गराउनुभयो ।

प्रतिपक्षले सोमबार पनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते मंगलबार १ बजे बस्नेछ ।

सम्बन्धित समाचार