नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।

प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज उहाँसँग गरेको भेटमा मंगलबार उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको हो ।
प्रधान न्यायाधिश डा शर्माले भन्नुभयो,“आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवम सुशासनसम्बन्धी विषयमा मैले कार्ययोजनामा नै राखेको छु । आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउछु ।”
न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ थियो ।
भेटमा मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्षहरू यम वीरही, लीलाधर उपाध्याय, दुर्गा दुलाललगायतले न्याय निष्पक्ष, सरल, छिटो हुनुपर्ने र आमजनताले न्यायको महसुस हुने गरी न्याय दिनुपर्नेलगायत विषयमा सुझाव दिनुभएको थियो ।
