जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो : मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा दलित समुदायलेपुर्याएको योगदान महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री वादीले भन्नुभयो, “नेपालको हरेक परिवर्तनमा दलित समुदायले पु¥याएको योगदानको सम्मान गर्न चाहन्छु, सीमित स्रोतसाधन जनशक्तिकाबीच आयोगले गरेका काम प्रशंसनीय छ, दलित समुदायका समस्या समाधान गर्न मन्त्रालय र आयोगबीच समन्वय र सहकार्य गर्छाैं ।”

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदका विषयमा सघन छलफल र संवादका माध्यमबाट समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले राज्य कमजोर र न्यूनआर्थिकस्तर भएकाका लागि हुनुपर्छ भन्ने पैरवी दलित आयोगले गरिरहेको छ भन्नुभयो ।

आयोगका सदस्य मेहले पार्कीले आयोगले गरेका सिफारिस र सरोकार कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन गर्न सामाजिक चेतना अभिवृद्धिमा सरकार, आयोग र सरोकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय सम्मान, गरिमा र आत्मसम्मानको पाटोमा राज्यका सबै संयन्त्रले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले दलित समुदायको न्यायमा पहुँचका लागि प्रहरी सङ्गठन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

विसं २०६३ जेठ २१ गते तत्कालीन संसद्बाट नेपाललाई जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्र घोषणा गरिएको थियो । उक्त दिनको स्मरणमा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने नाराका साथ आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस मनाइएको हो ।

सम्बन्धित समाचार