नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले खानपानको सुनिश्चितामार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यन्वयनलाई उच्च प्राथमिकता राखिएको बताउनुभयो ।
यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यलाई तीव्रता दिइने शुभकामना उल्लेख गरिएको छ ।
खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कामय राख्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री मेहताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको बताउनुभएको छ ।
उहाँले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ्यकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने उल्लेख गर्नुभयो ।
मन्त्री मेहताले यस दिवसले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालगायत सबै सरोकारवालाई स्वच्छ खानपानको महत्त्व आत्मसात गर्न र आआफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष ६० करोड मानिसले दूषित खानाका कारण बिरामी पर्ने र चार लाख २० हजार मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।
