रास्वपा कैलालीको सभापतिमामा ठकुल्ला, बझाङमा उपाध्याय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनबाट ठकुल्ला तीन सय ३५ मतसहित निर्वाचित हुनुभएको हो । सभापतिका उम्मेदवार महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा रामलखन चौधरी विजयी हुनुभएको छ । पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै चौधरी एक सय ५२ मतसहित विजयी हुनुभएको हो ।

सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

समितिको सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जङ्गबहादुर आलेमगर, दीपक विक, नरदीपबहादुर धामी विजयी हुनुभएको छ । यस्तै, निर्वाचन क्षेत्र नं १ बाट टङ्कप्रसाद जैशी ढुङ्गाना, क्षेत्र नं २ कृष्णबहादुर विष्ट, क्षेत्र नं ३ वासुदेव घरेडी र क्षेत्र नं ४ बाट दुर्गा अधिकारी निर्वाचित हुनभएको छ । पाँच सय आठ मतदाता रहेकामा तीन सय ३५ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

बझाङमा उपाध्याय

रास्वपा बझाङको प्रथम अधिवेशनले सत्यराज उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापति र सचिवबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । समितिको उपसभापतिमा अरूण कुमार रोकाया र राम बहादुर देवारबीच प्रतिष्पर्धा भएको थियो । रोकायाले ८४ र देवारले ९९ मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा अशोक मल्ल एक सय १६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गर्नुभयो ।

सहसचिवमा मुकेशकुमार ऐडी र कोषाध्यक्षमा अनिता भाट जप्रेल चयन हुनुभएको छ । सदस्यमा पुष्पराज रोकाया (अक्षर खेती), गङ्गादत्त जोशी, रूद्रासिंह मल्ल, ज्ञानबहादुर सिंह, कमल साउद, मनिराम उपाध्याय र रामबहादुर थापा चयन हुनुभएको छ ।

सम्बन्धित समाचार