रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ

रूपन्देहीको बुटवलबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा छ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपालमा कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका–१२ स्थित एक स्थानमा विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले छापा मारेको थियो ।

प्रहरीले पक्राउ परेकामध्ये ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली शुआनहेई, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरूले बाइनान्स, ओकेएक्स, इनटोकन, पेटीएम, मोबिक्विक तथा फोनपेलगायतका डिजिटल भुक्तानी तथा क्रिप्टोकरेन्सी एप्स र वेबसाइटमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको छ । बरामद सामग्रीको परीक्षण तथा डिजिटल प्रमाण सङ्कलन गरी थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानुनी घोषणा गरिसकेको अवस्थामा त्यससम्बन्धी गतिविधि गर्ने वा गराउनेमाथि कानुनी कारबाही हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

सम्बन्धित समाचार