विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर

विश्वकप फुटबलअन्तर्गत शनिबारका खेलहरूमा बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्नेछ । यी खेलहरूको नतिजाले अन्तिम ३२ मा पुग्ने टोलीहरूको टुङ्गो लाग्नेछ ।

समूह ‘ई’ अन्तर्गत रहेको जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकप खेलमा पहिलो पटक सहभागी भएको कुराकाओलार्ई ७–१ ले पराजित गरेको थियो । यदि जर्मनीले आइभरी कोस्टलाई पराजित गरी इक्वेडरले अर्को खेलमा जित निकाल्न असफल भएमा जर्मनी समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्नेछ ।

जर्मनीका प्रशिक्षकले आइभरी कोस्टको गति र एथलेटिक क्षमताप्रति विशेष सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । विशेषगरी, आइभरी कोस्टका ‘विङ्गर’ निकोलस पेपेप्रति ध्यान केन्द्रित गरिएको छ ।

यसै समूहमा आइभरी कोस्टले जर्मनीलाई हराएमा अर्को चरणमा स्थान सुरक्षित गर्न सक्ने सम्भावना रहेको छ ।

अर्को खेलमा स्विडेनले नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ । जित निकाले स्विडेनले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ । स्विडेन हाल अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै प्रतियोगितामा अगाडि बढिरहेको छ ।

स्विडेनका प्रशिक्षक ग्राहम पोटरले ‘स्ट्राइकर’ अलेक्जेन्डर इसाक आगामी खेलहरूमा अझ प्रभावकारी हुँदै जाने बताउनुभएको छ । इसाकले हालसम्मको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र दुई गोलमा सहयोगी भूमिका निर्वाह गर्नुभएको छ ।

शनिबारकै अर्को ऐतिहासिक खेलमा जापानले ट्युनिसियासँग विश्वकपको एक हजारऔँ खेलका रूपमा प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबारका खेलहरूमा सह–आयोजक संयुक्त राज्य अमेरिकाले अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । समूह ‘डी’ मा शीर्ष स्थान हासिल गरेसँगै अमेरिका नकआउट चरणमा सहज मार्गतर्फ अघि बढेको छ ।

त्यस्तै, ब्राजिलले हाइटीलाई ३–० ले हराउँदै समूह ‘सी’ मा आफ्नो स्थिति बलियो बनाएको छ भने मोरोक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

विश्वकपको समूह चरण रोमाञ्चक मोडमा पुगेको छ र आगामी खेलहरूले ‘नकआउट’ चरणका धेरै समीकरण स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार