नवकान्तिपुर संवाददाता
धरान (सुनसरी), ६ असार।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो ।
जाँच तथा खानतलासीका क्रममा सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागुऔषध फेलापरेको हो । झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
लागुऔषधसहित सासूबुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।
