नवकान्तिपुर संवाददाता
मोरङ, २४ असार।

कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत पदक विजेता प्रदेशका खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोर्डले श्रीलङ्कामा सम्पन्न एसबिआई प्रथम पहिलो दृष्टिविहीन महिला क्रिकेटमा दोस्रो स्थान हासिल गर्ने प्रदेशका खेलाडीद्वय प्रतिभा राई र सुनिता भुजेललाई रु एक-एक लाखसहित सम्मान गरेको छ ।
यसैगरी संयुक्त अरब इमरेट्स (युएई) को दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिस यु–२३ एकलतर्फ रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई रु ५० हजारसहित सम्मान गरिएको छ ।
यस्तै विभिन्न विधाको प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, व्यवस्थापक र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा पाँच खेलकुद पत्रकारलाई समेत सम्मान गरिएको थियो ।
बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल, सदस्यसचिव विप्लव घोषलगायतले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।
सो अवसरमा मन्त्री मेहताले अन्तरराष्ट्रिय क्षेत्रमा मुलुकको नाम चिनाउने खेलाडीलाई सम्मान गर्दा गर्व लागेको बताउनुभयो । सरकार खेलाडीको वृत्तिविकास, खेल पूर्वाधारको स्तरोन्नति र प्रतियोगिता नियमित आयोजनाका लागि नीतिगत र बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

