नवकान्तिपुर संवाददाता
जोहानेसबर्ग, २७ असार।

अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ ।
खेलकुद मन्त्री गेटन म्याकेन्जीले उहाँको निधनको पुष्टि गर्नुभयो तर निधन हुनुको कारण भने बताउनुभएको छैन । खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै भन्नुभएको छ, “जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको छ। दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा उज्ज्वल युवा प्रतिभा गुमाएको छ।”
प्रहरीले शनिबार बिहान केप टाउनको केन्द्रीय उपनगर स्कोट्सचेकलुफमा एउटा घरमा २५ वर्षीय उहाँको शव फेला परेपछि अनुसन्धान सुरु गरेको बताएको छ ।
“यो घटनाको बारेमा अनुसन्धान भइरहेको छ,” वेस्टर्न केप प्रहरी प्रवक्ता एफसी भ्यान विकले बताउनुभयो ।
एडम्सले प्रतियोगितामा दक्षिण अफ्रिकाको समूह चरणका सबै तीन खेल खेल्नुभएको थियो भने क्यानडासँगको नकआउट चरणमा उहाँ मैदानमा उत्रिनुभएको थिएन । दक्षिण अफ्रिकाका नकआउट चरणबाट नै यो बर्षको विश्वकप खेलबाट बाहिरिएको थियो ।
केप टाउनमा जन्मिएका उहाँले स्टेलनबोस एफसीबाट व्यावसायिक करियर सुरु गर्नुभएको थियोर सन् २०२५ को जनवरीमा काफ च्याम्पियन्स लिग विजेता ‘मामेलोडी सन्डाउनस् क्लब’ मा आवद्ध हुनुभएको थियो ।
उहाँको निधन दक्षिण अफ्रिकाको समूह ए को चेकियाविरुद्धको खेलको पूर्वसन्ध्यामा आफ्नी हजुरआमाको निधन भएको एक महिना पनि नबित्दै भएको हो।
“जेडेनले चेक गणतन्त्रविरुद्धको खेलमा सुरुदेखि नै खेल्न सुरु गर्नुभएको थियो र हजुरआमाको निधनको पीडा बोकेर पनि आफ्नो सबै मेहनत दिनुभएको दक्षिण अफ्रिकी फुटबल सङ्घले खेलपछि उहाँको खेलप्रतिको इमान्दारिता र त्यागको प्रशंसा गर्दै भनेको थियो।

