सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको आसाम राज्य, गुहाटी मदनपुरका २६ वर्षीय जावरुल हक र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २४ वर्षीय सरोज कार्की छन् ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जावरुल हकले पीडित महिलाको अश्लील भिडियो र तस्बिर दुरुपयोग गर्दै अनुचित लाभ लिन बारम्बार दबाब दिएका थिए । उद्देश्य पूरा नभएपछि उनले ती सामग्री टिकटकमा सार्वजनिक गरी महिलाको चरित्रहत्या गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सरोज कार्कीले अध्ययनका क्रममा चिनजान भएकी प्रेमिकासँग सम्बन्ध विच्छेद भएपछि पीडितकै फेसबुक खाताबाट अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने, दुःख–हैरानी दिने र मानसिक तनाव सिर्जना गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको गोपनीयता, प्रतिष्ठा वा चरित्रमा आघात पुर्याउने कार्य कानुनबमोजिम दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार