नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा नेपालले नामिबियालाई जितको लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ ।

नेदरल्यान्डसको उट्रेच स्टेडियमा जारी खेलमा नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ६० बलमा ३१ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ५० बलमा दुई चौकाको सहायतामा ३० रन जोड्दा गुल्शन झाले २० रन बनाए । त्यस्तै करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन जोडे ।

बलिङतर्फ नामिबियाका योहानस जोनाथन (जेजे) स्मिथले सर्वाधिक ६ विकेट लिए । विश्वकप लिग–२ मा नेपालले २४ अङ्क जोडेको छ । नेपाल तालिकाको पाँचौँ स्थानमा छ । त्यसैगरी नामिबिया भने २२ अङ्कसहित अङ्क तालिकाको सातौँ स्थानमा छ । अमेरिका भने ४३ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार