
बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति, नुवाकोट–धादिङले काठमाडौंको माछापोखरीस्थित एक बैक्वेटमा आयोजना गरेको भेलाबाट प्रभावित स्थानीयले अब “आरपारको आन्दोलन” गर्ने घोषणा गरेका छन्।
सयौंको सहभागिता रहेको भेलामा स्थानीय बासिन्दाले दुई दशकदेखि फोहोरमैला व्यवस्थापनको मुख्य भार आफूहरूले मात्रै बोक्दै आएको, तर त्यसको बदलामा राज्यबाट उचित संरक्षण, स्वास्थ्य सुरक्षा र न्याय नपाएको गुनासो गरेका छन्। उनीहरूले दुर्गन्ध, प्रदूषण र वातावरणीय असरका कारण सामान्य जीवनयापन नै कठिन बन्दै गएको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले राज्यले करिब २० वर्षदेखि नुवाकोट र धादिङका प्रभावित नागरिकलाई स्वच्छ वातावरण र स्वास्थ्यसँग बाँच्न पाउने मौलिक अधिकारबाट वञ्चित गरेको आरोप लगाए। “अब हाम्रो आन्दोलन आरपारको हुनेछ। अब पनि सरकारले बेवास्ता गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्छ,” उनले भने।
स्थानीयका अनुसार ल्याण्डफिल साइटबाट निस्कने दुर्गन्ध र प्रदूषणयुक्त ग्यासका कारण वरपरका बस्तीका बासिन्दा विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन्। उनीहरूले वायु प्रदूषणले हजारौं घरपरिवारको दैनिक जीवन प्रभावित भएको र दीर्घकालीन स्वास्थ्य जोखिम बढ्दै गएको बताएका छन्।
भेलामा बोल्ने स्थानीयले फोहोर बोकेर आउने टिपर दुर्घटनाका कारण विगतमा धेरै स्थानीयले ज्यान गुमाएको दाबी गर्दै पीडित परिवारले अझै न्याय र उचित क्षतिपूर्ति नपाएको गुनासो गरे। उनीहरूले फोहोर व्यवस्थापनको सम्पूर्ण भार आफूहरूमाथि थोपारेर राज्यले अन्याय गरेको आरोप लगाए।
त्यसैगरी, ल्याण्डफिल साइट वरपर देखिने गिद्धहरूले डम्पिङ साइटबाट मरेका जनावरका सिनो बोकेर गाउँघरका छत, कौसी तथा खुला स्थानमा खसाल्ने गरेको स्थानीयको भनाइ छ। यसले वातावरण थप प्रदूषित हुनुका साथै संक्रामक रोग फैलिने जोखिम बढेको उनीहरूको दाबी छ।
भेलामा सहभागीहरूले सरकारसँग दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापन, प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षा, उचित क्षतिपूर्ति तथा विगतका सहमतिहरूको तत्काल कार्यान्वयनको माग गरेका छन्। माग पूरा नभए चरणबद्ध रूपमा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि उनीहरूले दिएका छन्।बन्चरेडाँडा प्रभावितको चेतावनी: “अब वारपारको आन्दोलन हुन्छ l”

