नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सुनसरीसहित तराई-मधेसलगायत क्षेत्रमा केहीदिन अघि भएका घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।
बैठकको आकस्मिक समयमा उहाँहरूले पछिल्लो समय सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव देखिएको भन्दै तत्काल पूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद भरतबहादुर खड्काले सुनसरीसहित तराई-मधेस क्षेत्रमा केहीदिन अघि भएका घटनाका सम्बन्धमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताउँदै सो घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गर्नुभयो । यस्ता घटनालाई गम्भीर रूपमा लिएर आगामी दिनमा हुन नदिने गरी सरकारले काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
सांसद डा अमरेशकुमार सिंहले सुनसरीसहितका क्षेत्रमा केहीदिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले तराई मधेसमा हुने अन्दोलन, घटना र विवादमा सिधैँ गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनुभयो ।
सांसद शिवशङ्कर यादवले सुनसरीलगायत क्षेत्रमा केहीदिन अघि भएका घटनाका पीडित परिवारलाई न्याय दिन सरकारले गरेको पहलको प्रशंसा गर्दै बाध्यकारी अवस्था नआई सुरक्षाकर्मीले गोली चलाउन नहुने धारणा राख्नुभयो ।
सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव देखिए पनि बजारमा सहजै पाइने गरेको अवस्थाका बारेमा अनुगमन बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले हाल खाना पकाउने ग्यासको पनि कृत्रिम अभाव देखिएको बताउँदै तत्काल समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद प्रेमलाल चौधरीले इलामको माईलगायत क्षेत्रमा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै वर्षभरि सुरक्षित आवतजावत हुने गरी यातायातको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद अम्बिकादेवी सङ्ग्रौलाले काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बस केहीसमय अघि बर्दियामा दुर्घटना भएको स्मरण गर्दै उक्त दुर्घटनाका पीडित परिवारले हालसम्म न्याय नपाएकाले न्यायको माग गर्नुभयो ।
सांसद अङ्किता ठाकुरले सिमानामा लागुऔषध नियन्त्रण र जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीको सुविधा समयानुसार वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी अस्पतालमा रेविजको भ्याक्सिनको तत्काल पूर्ति गर्न माग गर्नुभयो ।
सांसद इन्दिरा रानामगरले पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहण गर्ने क्रममा निधन हुनुभएका निर्मल पूर्जा ‘निम्स दाई’ लगायत आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँलाई राष्ट्रिय विभूतिका रूपमा स्मरण गर्नुपर्ने सुझाव दिनुभयो ।

