नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।
विधेयक प्रस्तुत गर्दै उहाँले कोषको २०१९ सालको ऐन कार्यान्वयनमा रहेको बताउँदै समसामयिक संशोधन गर्न आवश्यक भएकाले यो विधेयक प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नृभयो । उहाँले विधेयक प्रस्तुत गर्दै २०६८ सालमा जारी भएको ऐनलाई संशोधन गर्न र छिटोछरितो न्याय निरुपणका लागि विधेयक ल्याइएको जानकारी गराउनुभयो ।
बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्दै उहाँले बालबालिका जोखिमपूर्ण काममा लगाउन निषेध गर्न, प्रचलित कानुनलाई नियमित र नियमण गर्न बनाउन विधेयक ल्याएको सदनलाई जानकारी गराउनुभयो । प्रतिनिधिसभा बैठक जारी छ ।

