पल्सर स्पोर्टस् अवार्ड : ‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस’मा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् । भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्टका रवीन्द्र ढाँट मनोनयनमा परेका हुन् ।

यस विधाका विजेताले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विसं २०८२ भरि उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा पाँच खेलाडी चयन गरिएको आयोजक मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिनुभयो । उहाँले वर्षभरि सफलता पाएर चर्चामा रहेका र सफलताको बाबजुद पनि ओझेलमा परेका खेलाडीलाई मनोनयन गरिएको बताउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार जनताको मतदान (भोटिङ) का आधारमा अवार्डको विजेता चयन हुनेछन् । आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमई खल्तीबाट प्राप्त मतको आधारमा विजेता चुनिने उहाँले जानकारी दिनुभयो ।

खल्तीको मतभार ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरूबाट प्राप्त मतको हुनेछ । यस विधाका विजेताले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । गत वर्ष पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।

आइतबार नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी खल्ती बाई आइएमइबीच आजै मतदान साझेदारका रूपमा प्रायोजन सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा खल्ती बाई आइएमइकी प्रमुख पूजा धामी र मञ्चका अध्यक्ष अधिकारीले हस्ताक्षर गर्नुभयो ।

एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्तीमार्फत लिनेछ । यस अवसरमा यस वर्ष पनि कार्यक्रममा जोडिन पाउँदा आफू उत्साहित भएको बताउँदै धामीले खेलाडीको सम्मानमा मञ्चले गर्ने यस्ता कार्यक्रम सराहनीय र प्रशंसायोग्य रहेका जनाउनुभयो ।

मञ्चका अध्यक्ष अधिकारीले आइएमई खल्ती परिवारप्रति कृतज्ञता व्यक्त गर्दै खल्तीले स्पोट्र्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गर्नुभयो । एसियाली खेलकुद पत्रकार सङ्घ (एआइपिएस) एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले ‘पिपल्स च्वाइस पल्सर’ खेलकुदको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो ।

उहाँले मनोनयनमा परेका खेलाडी महिनाभरी खेल खेली चर्चामा रहने भएकाले उक्त कार्यक्रमले अवार्डकै ओज बढाउने उल्लेख गर्नुभयो ।

मतदानमा नयाँ शैली

पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपाली नयाँ शैली अपनाउने निर्णय गरेको छ । विगतका वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकहरूले जति रकम हाल्न पाइन्थ्यो ।

तर यसपाली एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछन् । जसका लागि रु १० मात्र राख्न पाउने नियम बनाइएको छ । अर्थात् अब एक समर्थकले एउटा प्रयागकर्ता अकाउन्टबाट दिनमा एक पटक मात्र भोट हाल्न सक्नेछन् । तर भोट भने प्रत्येक दिन हाल्न पाइनेछ ।

मञ्चका अध्यक्ष अधिकारीले परिवर्तनबारे जानकारी दिँदै भन्नुभयो, “विगतमा समर्थकले चाहेजति रकमको भोट एकसाथ हाल्न पाइन्थ्यो । यसले गर्दा योग्य उम्मेदवारभन्दा पनि अन्यले मौका पाउने जोखिम बढ्यो । मञ्चको उद्देश्य नाफा कमाउने नभई योग्य उम्मेदवार अगाडि आउन भन्ने हो । त्यसैले यो नयाँ तरिका अपनाइएको हो । हामीलाई विश्वास छ, यो तरिकामा सबैपक्ष खुसी हुनेछ ।”

एसियाली खेलकुदको एकल काता र टिम कातामा छानिनुभएकी कराते खेलाडी सानुमायाले पिपल्स च्वाइसको मनोनयनमा परेपछि खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो सफलताका लागि म कराते परिवार, प्रशिक्षक मण्डेकाजी श्रेष्ठ र अन्य सबैलाई धन्यवाद दिन चाहन्छु । यसले मेरो खेल करिअरमा नयाँ ऊर्जा थपिएको मैले महसुस गरेको छु ।”

त्यस्तै भलिबलकी चर्चित युवा खेलाडी मीनाले पनि पिपल्स च्वाइसमा छानिन पाउनुलाई गर्वको विषय भनी ब्याख्या गर्नुभयो । उहाँ पनि एसियाली खेलकुदको बन्द प्रशिक्षणमा हुनुहुन्छ । मनोनयनमा पर्ने अन्य खेलाडी पूजा, रविन्द्र र शेर विदेशमा रहेकाले उपस्थित नभएकाले आयोजकले जनाएको छ ।

नेपाली खेलकुद वृत्तमा थप चर्चा कमाउनुभएकी उदीमान महिला भलिबलकी खेलाडी मीनाले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आउनुभएको छ ।

उहाँले काभा महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ भने एभरेष्ट महिला भलिबल क्लब, बुटवलकी कप्तानको भूमिकासमेत निर्वाह गर्नुभएको छ ।

यसैगरी, नेपालले भाग लिने अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुएकी फुटबलकी पुजा भुटानको ट्रान्सपर युनाइटेड क्लब र बङ्गलादेशको फरासगन्ज एफसी र नासरिक स्पोर्टस् एकेडेमीसँग आबद्ध भई खेल प्रदर्शन गर्नुभएको छ ।

त्यस्तैै, इजिप्टमा भएको विश्व कराते च्याम्पियनसिपमा एकल कातातर्फ सानुमायाले उत्कृष्ट खेल प्रदर्शन गर्दै छनोट चरण पार गर्नुभएको छ । उहाँले दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्णपदक जित्नुका साथै एकल कातामा रजत पदक हात पार्नुभएको थियो ।

आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आफनो डेब्यु खेलको पहिलो बलमै विकेट लिन सफल शेर मल्लले मलेसियमा भएको एसियन गेम क्वालिफायरअन्तर्गत हङ्कङविरुद्धको खेलमा चार विकेट र मलेसियाविरुद्धको खेलमा तीन विकेट लिनुभएको थियो ।

उहाँले नेपालमा आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो र दोस्रो संस्करणमा च्याम्पियन टोलीका लागि उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्टस र दोस्रोमा लुम्बिनी लायन्सले उपाधि जित्दा दुवै टोलीको लागि उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो ।

बझाङका बाघ भनेर चिनिने रवीन्द्र गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ बेन्टमवेटमा च्याम्पियन बन्नुभयो । त्यसैगरी एसिया प्यासिफिक रिजनका २०५औँ वरियता प्राप्त उहाँले रोड टु युएफसीको सेमिफाइलमा पुग्ने पहिलो नेपाली फाइटरसमेत बन्नुभयो ।

आगामी भदौ १८ गते आयोजना हुने यस कार्यक्रममा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा पिपुल्स च्वाइससँगै वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नलिस्ट अवार्ड रहेका छन् ।

सम्बन्धित समाचार