नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयकमा सांसदहरुले महिलाको सम्मान गर्नु पर्ने बताउँदै विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाउन सुझाव दिनुभएको छ ।
महिला, बालबालिका लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले पीडितको पक्षमा कानुन निर्माण गर्न जोड दिनुभएको हो ।
सांसद इन्दिरा रानामगर, साजिदा खातुन सिद्धिकी, शोभा खनाललगायत सांसदले विधेयकमा धेरै ठाउँमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाउन आग्रह गर्नुभयो । महिलाको सम्मानको सवाल भएकाले विधेयकमा वेश्या जस्ता शब्द हटाउनुपर्नेमा सांसदहरुको जोड थियो ।
यसका साथै, सांसद सृष्टि भट्टराईले मानव बेचबिखनको स्वरुप परिवर्तन भएकाले समयसापेक्ष कानुन निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । यसका साथै विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्न ‘र्यापीट रेस्पोन्स टिम’ टोली खडा गर्नुपर्छ ।
सांसद मनमाया विश्वकर्माले मानबेचबिखन सम्बन्धी कानुन निर्माण गर्दा अपराधीलाई सजाय तोक्नु मात्रै होइन, पीडितको अधिकार र उपचारको विषय पनि समेटिनुपर्ने धारणा राख्नुभयो । सांसद निश्कल राईले पीडितको उद्धार पश्चात क्षतिपुर्ति र सामाजिक सम्मानसहितका कानुनी व्यवस्था हुनुपर्छ ।
सांसद आकृति अवस्थीले पीडितको क्षतिपुर्ति र पुनःस्थापनालाई प्रभावकारी बनाउने विधेयक आवश्यक रहेको बताउनुभयो । पीडित केन्द्रीत, बाल र महिला संवेदनशील विधेयक बनाउन जरुरी देखिएको उहाँले बताउनुभयो ।
सांसद रमेशकुमार मल्ल, दीपक बोहरा, ललिता कुमारी, विक्रम थापा, जनकसिंह धामी, हर्कराज राई, मोहनलाल आचार्य, लिमा अधिकारी आचार्य, माधवबहादुर थापा, सन्दीप राना, करिश्मा कठरिया, गोविन्द पन्थी, गीताकुमारी सेन्दाङ, पद्माकुमारी अर्याल, स्मृति सेन्चुरी, गणेश कार्की, गणेशबहादुर विश्वकर्मा, तारा विश्वकर्मालगायतले सैद्धान्तिक विचार प्रस्तुत गर्नुभयो ।

