नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २६ अङ्कले घटेर दुई हजार ६२२ दशमलव २२ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अङ्कले घटेर ४६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ०२ अङ्कले घटेर १७९ दशमलव ९५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने बुधबार स्थिर रहँदै १५५ दशमलव ७५ मा पुगेको छ ।
विभिन्न कम्पनीका ९५ लाख आठ हजार ८८२ कित्ता सेयर रु तीन अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ । बुधबार १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । बुधबार १११ कम्पनीको शेयर बढ्यो भने १४९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १८ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार बुधबार सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र आरबिबी म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी, आइसिएफसी डिबेञ्चर, सन्राइज ब्लुचिप फण्डका लगानीकर्ताले गुमाएका छन् ।

