नवकान्तिपुर संवाददाता
त्रिशूली (नुवाकोट), ११ भदौ।

भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा अपूरणीय क्षति पुर्याएको छ । जलविद्युत् आयोजनासहित प्रसारण लाइन र सवस्टेशनमा क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न अध्ययन थालिएको र केही दिन लाग्ने जानकारी दिनुभयो ।
नुवाकोटमा उत्पादित विद्युत् काठमाडौँ पठाइएको किस्पाङ–५ पैरेबेँसीस्थित सवस्टेशन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रलाई बाढीले बगाएका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा निरन्तरताका लागि आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
बाढीका कारण क्षतिग्रस्त भएका जलविद्युत् केन्द्रमा रसुवास्थित रसुवागढी जलविद्युत् केन्द्र १११ मेगावाट, लाङटाङ खोला २० मेगावाट, लाङ्टाङ–भोटेकोशी १२० मेगावाट, चिलिमे २२ मेगावाट, निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोना २१६ मेगावाट छन् ।
यस्तै, नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २१ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा क्षति पुगेको छ । ती संरचनाको अधिकांश पूर्ण क्षतिग्रस्त अवस्थामा रहेकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिनुभयो ।

