नवकान्तिपुर संवाददाता
नेपालगन्ज (बाँके), १३ भदौ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले विपद्को समयमा आपसी सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ ।
बाँकेको नेपालगन्जमा शनिबार आयोजित अगुवा श्रमदातासँग हातेमालो कार्यक्रममा रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते गएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिकले एकजुट भएर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष राईले विपद्का बेला सरकार एक्लैले सबै काम गर्न नसक्ने भएकाले सबै पक्षले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो । “यस्तो विषम परिस्थितिमा सरकार आफैँले सबैथोक गर्न सक्दैन । यस्तोबेला हामी सबै मिलेर सरकारलाई सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष राईले भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पुर्याएको उल्लेख गर्दै पुनःस्थापना र पुनर्निर्माणमा श्रमको भूमिका निर्णायक हुने बताउनुभयो । “श्रमलाई घटाएर जीवनको परिकल्पना गर्न सकिँदैन । श्रम सर्वोपरि शक्ति हो । श्रमले हाम्रा सम्पदा र सम्पत्तिको संरक्षण गर्छ”, उहाँले भन्नुभयो ।

