नवकान्तिपुर संवाददाता
दमौली (तनहुँ), २२ भदौ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले खोज तथा उद्धारलाई तीव्रता दिएको छ । बाढीपछि तनहुँको आँबुखैरेनी र देवघाट क्षेत्रमा त्रिशूली नदी किनारमा ३९ शव फेला परिसकेका छन् ।
खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली तनहुँमा परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बन्दीपुर, देवघाट, साराङघाट तथा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलको प्रहरी टोलीसमेत संयुक्त रूपमा खोजी कार्यमा खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । टोलीले आँबुखैरेनी गाउँपालिका–४ र ५ तथा देवघाट गाउँपालिका–४ र ५ अन्तर्गत पर्ने मुग्लिङ पुलदेखि देवघाटसम्मको त्रिशूली नदी किनार क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका ३९ शव तनहुँका विभिन्न क्षेत्रमा फेला परेका प्रहरीले जनाएको छ । तीमध्ये २४ शव पोखरा पठाइएको थियो भने १५ व्यास नगरपालिका-५ चैनपुर क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरिसकिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
नदीमा बाढीको बहाव उच्च रहनाका साथै नदी किनारका कतिपय स्थान भौगोलिक रूपमा जोखिमपूर्ण रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ ।
तालिमप्राप्त कुकुरसहितको टोली परिचालन भएपछि नदी किनार, झाडी तथा अन्य सम्भावित स्थानमा बेपत्ता व्यक्तिको खोजीलाई थप प्रभावकारी बनाउने प्रयास गरिएको प्रनाउ घिमिरेले बताउनुभयो ।
प्रहरीले मुग्लिङ पुलबाट देवघाटसम्मको त्रिशूली नदी किनारलाई प्राथमिक क्षेत्रमा राखेर खोजी गरिरहेको छ । आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ४ र ५ तथा देवघाट गाउँपालिकाका वडा नम्बर ४ र ५ अन्तर्गतका नदी किनारमा प्रहरी टोलीले सम्भावित स्थान पहिचान गरी खोजी गरिरहेको जनाइएको छ ।
तनहुँका नौ जना सम्पर्कमा, २४ अझै बेपत्ता
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएको जानकारी गराइएका तनहुँका ३३ जनामध्ये नौ जना सम्पर्कमा आएका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँ जिल्लामा स्थायी बसोबास गर्ने ३३ जना व्यक्ति सम्पर्कविहीन रहेका भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी प्राप्त भएको थियो ।
खोजतलास तथा सम्पर्क समन्वयका क्रममा हालसम्म नौ जना सम्पर्कमा आइसकेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । “भोटेकोशी बाढीपश्चात् तनहुँमा स्थायी बसोबास गर्ने ३३ जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “बाँकी व्यक्तिहरूको खोजी तथा सम्पर्क स्थापित गर्ने प्रयास जारी छ ।”
जिल्ला प्रहरी कार्यालयले बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण अद्यावधिक गर्दै आवश्यक समन्वय र खोजतलासको कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
