नवकान्तिपुर संवाददाता
सङ्खुवासभा, २५ भदौ।

सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन –८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् ।
पाँचखपन–८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो ।
हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गर्नुभएको थियो ।
त्यस्तैगरी, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
गम्भीर घाइते ६४ वर्षीय कट्वाल र ६२ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटरपूर्वमा रहेको जनाइएको छ ।

