नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ।

नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिनुभयो ।
चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न नसकिएकाले पहुँच सडक निर्माण गर्नुपरेको हो । सेनाको उद्धार टोली त्यस कार्यमा २४सै घण्टा खटिइरहेको छ । उहाँले भन्नुभयो, “त्यहाँ बाढीले ल्याएको एकदमै बाक्लो लेदो रहेछ, हाम्रो टोलीले रातभरि नै सुरुङ सफा गरिरहेका छन् ।”
सेनाका अनुसार माथिल्लो त्रिशूली–१ बाट हालसम्म चार वटा शव सङ्कलन भएको छ । त्रिूशली–३ ‘बी’मा र चिलिमेलाई केन्द्रित गरेको उद्धारका प्रयास भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ बीमा एक सयभन्दा बढी फौज उद्धारमा खटिइएका छन् ।
यस्तै, चिलिमे आयोजनाको सुरुङमा अहिले नेपाली सेना र भारतीय उद्धारकर्मीले संयुक्त रूपमा उद्धार प्रयास जारी राखेको छन् ।

