नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ।

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ ।
फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्यो । उसले पहिलो सेट २५–१५ ले सहजै जित्यो । दोस्रो सेटमा पनि कर्णालीविरुद्ध अन्नपूर्णले पूरा दबाब राख्यो । उसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेट अन्नपूर्णले २५–१८ ले जित्दै इतिहास रच्यो । ऊ अब एनभिएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको थियो ।
प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ । पहिलो संस्करणको एनभिएलमा छ टोलीको सहभागिता थियो ।

