नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज।

परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाका अवसरमा बुधबार न्युयोर्कमा भएको भेटवार्तामा फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनले नेपालमा हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनलाई नेपाल र नेपालीप्रति देखाउनु भएको सद्भावप्रति धन्यवाद दिनुभयो ।
सो अवसरमा उहाँहरुबीच नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो ।

