नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज।

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा मानवअधिकारसँग सम्बन्धित विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटवार्ताका क्रममा दुवै पक्षले नेपालको राष्ट्रिय स्वामित्व र नेतृत्वमा अघि बढिरहेको शान्ति प्रक्रियासँग सम्बन्धित विषय, विकास र मानवअधिकारबीचको अन्तरसम्बन्ध तथा बढ्दो जलवायु परिवर्तनका विनासकारी प्रभावबारे विचार आदानप्रदान गर्नुभयो ।
साथै, नेपालमा भएको भोटेकोशी विपद्पछिको जारी पुनःस्थापना तथा पुनर्निर्माण प्रयासका विषयमा समेत छलफल भयो ।
