पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि रसुवाको उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावतलाई सहज बनाउन बिहीबारदेखि पैरेबेँसीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ ।

बाढीले आवागमन ठप्प भएपछि उत्तरगया-१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए । तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ ।

यात्राको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जना मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार तुइनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीबाट दुई-दुई जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ । यो वैकल्पिक व्यवस्थाले सडक पुनर्निर्माण नभएसम्मका लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार