नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज।

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका पूर्वक्रिकेटर धम्मिका प्रसाद नियुक्त हुनुभएको छ । टोलीले आगामी सिजनका लागि प्रसादलाई पुनः मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको हो ।
विराटनगरले धम्मिकालाई टोलीको प्रशिक्षणसँगै रणनीतिक योजनामा समेत महत्त्वपूर्ण जिम्मेवारी दिने बताएको छ । उहाँको नेतृत्वमा गत सिजन विराटनगरले प्रभावशाली प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाएको थियो ।
विराटनगर लिग चरणमा शीर्ष दुईभित्र रहेर क्वालिफायरमा प्रवेश गरेको थियो । क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि उसले फाइनल प्रवेशका लागि क्वालिफायर–२ खेल्ने अवसर पाएको थियो । तर, क्वालिफायर–२ मा लुम्बिनी लायन्ससँग रोकिएपछि विराटनगरको उपाधि यात्रा टुङ्गिएको थियो ।
श्रीलङ्काका लागि उहाँले आफ्नो अन्तरराष्ट्रिय खेल जीवनमा २५ टेस्ट, २४ एकदिवसीय अन्तरराष्ट्रिय र १४ टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । खेलाडीका रूपमा तीव्रगतिका बलर उहाँले प्रशिक्षकका रूपमा पनि विभिन्न टोलीसँग काम गरिसक्नुभएको छ ।
सन् २०२३ मा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो । धम्मिकाले ओमानको राष्ट्रिय टोलीसँग पनि बलिङ प्रशिक्षकका रूपमा काम गर्नुभएको छ ।
विराटनगरसँग पुनः जोडिन पाउँदा आफू उत्साहित रहेको उहाँले प्रतिक्रिया दिनुभएको छ । गत सिजन प्लेअफबाट बाहिरिँदाको अनुभवले टोलीलाई आगामी प्रतियोगिताका लागि थप दृढ बनाएको प्रशिक्षक धम्किाको भनाइ छ ।
यसपटक टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने र त्यसका लागि आफ्नोतर्फबाट पूर्ण प्रयास हुने उहाँले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । आसन्न संस्करणको एनपिएल आगामी कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
